
काठमाडौं, चैत १६ । ‘त्रिदेशीय कप’ फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
सोमबार बेलुकी दशरथ रङ्गशालामा भएको फाइनलमा बंगलादेशलाई २/१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपालका लागि खेलको १८ औं मिनेटमा संजोग राईले तथा ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २/० ले अग्रता दिलाएका थिए ।
तर खेलको ८३ औं मिनेटमा बंगलादेशले एक गोल फर्काएको थियो ।
नेपालले ३७ वर्षपछि दशरथ रङ्गशालामा नेपालले उपाधि जित्न सफल भएको हो ।
यसअघि नेपालले दशरथ रङ्गशालामा पहिलो दक्षिण एसियाली खेलकुद सागको उपाधि जितेको थियो ।
यो जितसँगै नेपालले पछिल्लो अन्तर्राष्ट्रिय सात खेलमा गर्न नसकेको गोलको खडेरीसमेत पुरिएको छ ।
संजोग म्यान अफ द फाइनल बन्न सफल भएका छन् । रोहित चन्द मोष्ट भ्यालुएबल खेलाडी बन्न सफल भएका छन् ।
यो खेलबाटै छिरिङ्ग गुरुङ्गले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् ।
कीर्गिस्तानको २३ वर्ष मुनिको टिमसमेत रहेको प्रतियोगिताको उपाधि जितेसँगै नेपालले ट्रफीसहित पाँच हजार अमेरिकी डलर जितेको छ ।
बंगलादेशले तीन हजार अमेरिकी डलर जितेको छ ।
विजेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गर्नुभएको छ ।
यसै खेलबाट नेपालका सर्वाधिक सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।
उनले कप्तानी ब्याण्डबाटै संन्यास लिने अवसर पाएका थिए ।
डिफेन्डर विराजले देशका लागि सबैभन्दा धेरै ७३ क्याप खेल्दै एक गोलसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्