
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को लागि मुख्य गणना कार्य २०७८ जेठ २५ गतेदेखि असाढ ८ गतेसम्म हुने भएको छ ।
बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावी कार्ययोजना सम्बन्धी छलफलमा भाग लिदैँ केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले २०७८ को जनगणनाको मुख्य गणना कार्य जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन गरिने जानकारी दिनुभयो ।
यस अवधिमा सुपरिवेक्षकहरुले प्रत्येक वडाबाट सामुदायिक प्रश्नावलीमा रहेका विवरण सङ्कलन गर्ने उहाँले बताउनुभयो । महानिर्देशक श्रेष्ठले यस वर्ष करिब ८० वटा प्रश्न लिएर जनगणनाको लागि प्रत्येक घरमा जाने भन्दै ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षक परिचालन गरिने जानकारी दिनुभयो ।
छलफलमा राष्ट्रिय सभा सदस्यहरुले जनगणनाको विश्वसनियताका लागि प्रभावकारी ढंगले तथ्याङ्क सङ्कलन गर्नु पर्नेमा जोड दिएका छन् । सांसद कोमल वली र खिमलाल भट्टराईले पछिल्लो समय हिन्दु धर्मप्रति पूर्वाग्रह देखिने गरेको भन्दै नेपालमा धर्मको अवस्था कस्तो रहेको छ भन्ने यर्थाथ अवस्था जनगणनाबाट आउनुपर्ने बताउनुभयो ।
सांसद खिमलाल भट्टराईले नेपालमा क्रिश्चियन धर्मको अवस्था कस्तो रहेको भन्नेबारे सही तथ्याङ्क आउनुपर्ने बताउनुभयो । सेवा क्षेत्र, कृषि र गरिबीको अवस्था कस्तो छ भन्नेबारे पनि जनगणनामा समेटिनुपर्ने उहाँले बताउनुभयो ।
त्यसैगरी बोक्सी प्रथा, दाइजोप्रथा, बालविवाह, छाउपडी लगायतका सामाजिक कुप्रथाहरुको पहिचान गरिनुपर्ने सांसद भट्टराईको भनाइ थियो ।सांसदहरुले जनगणनामा तथ्याङ्क संकलन गर्दा गोपनियता कायम गर्नुपर्ने विषयमा पनि जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्