
काठमाडौं, चैत २० । म्यानमारमा सैन्य सत्ताले गरेको नागरिक नरसंहारको विरोधमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (यूएन) को कार्यालय अगाडि प्रदर्शन गरिएको छ ।
प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार संगठन र न्यायका लागि मानवअधिकार सञ्जालले संयुक्त रुपमा शुक्रबार बिहान राष्ट्रसंघीय कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

म्यानमारमा प्रजातन्त्र र नागरिक शासन बहाली गर, नागरिक शासन बहाली गर, नागरिक हत्यारा सैन्य शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर जस्ता नारा लेखिएको ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा मानवअधिकारवादी प्राध्यापक कपिल श्रेष्ठ, डा. केदारनरसिंह केसी, राजन कुईंकेल, महामुनिश्वर आचार्य, डा. अञ्जनीकुमार झा, डा. लोचन कार्की, डा. बद्री रिजाललगायतले बर्मामा सैन्य सत्ताले गरेको बर्बर दमनको निन्दा गर्दै प्रजातन्त्र र नागरिक अधिकार बहालीका लागि कदम चाल्न राष्ट्र संघसँग आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्