२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सरकारले विश्वासको मत लिनु पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली


0
Shares

काठमाडौं, चैत २३ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले विश्वासको मत लिन नपर्ने जिकीर गर्नुभएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री ज्ञवालीले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाबाट तत्कालिन सत्तारुढ दल नेकपा विभाजन भएको व्याख्या गर्न नमिल्ने भएकाले विश्वासको मत पनि लिनु पर्दैन भन्नुभयो ।

यसअघि प्रतिनिधिसभाको अघिल्लो बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाबाट तत्कालिन सत्तारुढ दल नेकपा विभाजित भएकाले सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताउनुभएको थियो ।

यसैबीच प्रतिनिधिसभाको आजको बैठकको विशेष र शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषय तथा सरकारको पक्ष र विपक्षमा धारणा राखेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देबेन्द्रराज कँडेलले वर्तमान राजनीतिक अवस्था कायमै रहे नेकपा एमालेको अन्तिम प्रधानमन्त्री केपी शर्मा ओली हुने जिकिर गर्नुभयो ।

सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिनुभयो ।

माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले सरकारले संसदलाई बिजनेश नदिएर संसदले काम गर्न सक्दैन भन्ने सन्देश दिन खोजेको आरोप लगाउनुभयो ।

यस्तै सांसद रंगमती शाहीले बालुबाटारबाट एकैपटक १६५ वटा सडकको शिलान्यास गर्ने प्रधानमन्त्री ओलीको कदमलाई नौटंकीको संज्ञा दिनुभयो ।