
काठमाडौं, चैत २४ । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए पनि नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई बैधानिकता दिई अध्यक्ष मानेमा नआत्तिन आग्रह गर्नुभएको हो ।
उहाँले समस्या आएमा समाधान पनि निकाल्ने बताउनुभयो ।
आफ्नो पक्षमा लागेका कुनैपनि नेता कार्यकर्तालाई बिचैमा अलपत्र नपार्ने पनि नेता नेपालले बताउनुभयो ।
एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पुर्याई छाडने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पार्नुभएको छ ।
त्यस क्रममा विभिन्न राजनीतिक दलहका नेतृत्वहरुसँग कुराकानी भइरहेको पनि बताउनुभयो ।
आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको पनि बताउनुभयो ।
आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्याकमेल गरिरहेको बताउनुभयो ।
तर केपी ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको बताउनुभयो ।
अहिले प्रचण्ड र अन्य दलहरुसँगको दुरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि केपी ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेता नेपालले बताउनुभयो ।
केपी ओलीले आफूहरुलाई छ महिनाका लागि निलम्बन गरेर आफ्नो बास्तविक स्वरुप देखाएको पनि नेता नेपालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्