
डोलराज रानाभाट
चितवन, चैत २४ । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको चितवनको दासढुँगामा जीप दुर्घटनामा भएको रहस्यमय निधनपछि उहाँको शव भरतपुर महानगरपालिका– १७ गाँजीपुरमा फेला परेको थियो ।
माछा मार्न जाँदा चार जना स्थानीयले उहाँको शव फेला पारेका थिए । तर मदनकी पत्नी विद्यादेवी भण्डारी अहिले राष्ट्रपति हुँदा पनि आफुहरुलाई अहिलेसम्म नसम्झेको गाँजीपुरबासीले गुनासो गरेका छन् ।
चितवनको भरतपुर महानगरपालिका वडानम्वर १७ का हेम बहादुर थापा मगरलाई जेठ महिना नजिक आउँदैगर्दा २०५० साल जेठ ४ र ५ गतेको सम्झना झली झली आइरहन्छ ।
थापा सहित सोही स्थानका श्याम बहादुर थापा मगर, कृष्णराज ठकुरी, टेकबहादुर आले माछा मार्दै जानेक्रममा भण्डारीको शव २०५० साल जेठ ४ गते नारायणी नदीको बीचमा अड्कीएको देख्नुभयो ।
२०५० साल जेठ ३ गते चितवनकै दासढुँगामा भएको जीप दुर्घटनामा निधन हुनुभएका भण्डारीको शव गस्तीमा गएको सेनाले पनि देख्यो ।
सेनाका केहीले शव बगाइदिने तयारी गरे । तर यी नै चार जना स्थानीयले मदन भण्डारीको शव बगाएर यहाँ ल्याएको हुन सक्ने बताएर रोकेका थिए ।
अन्नतत भण्डारीकै शव रहेको पुष्टि पनि भयो ।
शव फेला पारेका उनै हेमबहादुर परिवारको शुन्दर भविष्यका लागि २०५२ साल असोजमा खाडीमा हानीन पर्यो ।
करिव ११ वर्ष खाडी वसाई पछि फर्कदा पनि गाँजीपुरले भने विकास पर्खिरहेको देख्नुभयो ।
हेम बहादुर खाडीमा हुँदा शव फेला पारेकोमा राष्ट्रपति विद्यादेवी भण्डारी बाट प्रसंसा पत्र दोसल्ला बाहेक अन्य कुनै पनि सहयोग र सुविधा नपाएको बताउनुहुन्छ ।
छोराछोरी उच्च शिक्षाको तयारीमा हुँदा व्यक्तिगतरुपमा थोरै सहयोग भइदिए हुने बताउने हेमबहादुरको ठूलो चिन्ता र चासो भने गाँजीपुरको समग्र विकासका लागि छ ।
देशमै एकमात्र ठूलो र ऐतिहासिक पार्क बनाई यस क्षेत्रको विकास गर्न राष्ट्रपति भण्डारीसँग उहाँको माग छ ।
राष्ट्रपति पदमा रहेको समय गाँजीपुरको विकासमा ठूलो सहयोग हुनुपर्नेमा अर्का स्थानीय अजय तामाङपनि जोड छ । त्यसो त अहिले गाँजीपुरमा मदन स्मृति पार्क बनिरहेको छ ।
भ्युटावर निर्माण सम्पन्न भएको छ भने शव देखिएको तर्फ रहेको सानो पार्क र त्यहाँबाट शव राखिएको ठाउँससम्म बनाइएको स्मृति पार्क जोड्ने गरी मोजाईक टायल विच्छाइएको छ ।
तीन वटा गोलाघर बन्ने क्रममा छन् भने गेट निर्माणको काम पनि भइरहेको छ ।
केहि नभएको ठाउँमा राम्रको कामको सुरुवात भएको बताउने स्थानीय नारायणी नदिले वर्षेनी तर्साइरहनेतर्फ सरोकारवालाहरुको ध्यान नगएको प्रति भने गुनासो छ ।
पोहोर मात्रै नारायणीमा आएको बाढिले झण्डै बगाएको सम्झने उनीहरु तटवन्धको काम तत्काल थाल्न माग गरेका छन् ।
तटवन्ध भएर जग्गा बचेमा मात्रै स्मृति पार्कमा रहेका संरचना रहने भन्दै तटवन्ध सहितको विकास गर्न ध्यानाकर्षण गराएका छन् ।
अहिलेको भएको तटवन्धका जाली खिइएका छन् भने ढुँगा झर्न थालेका छन् ।
बहुवर्षीय योजना अनुसार भौतिक संरचनाका कार्यहरु भइरहेको गाँजीपुर मदन स्मृति पार्क निर्माणका लागि भ्युटावर, गेट,अन्य संरचना बनाउन हालसम्म १ करोड ८० लाख बजेट आएको वडाअध्यक्ष ललितमान तामाङ बताउनुहून्छ ।
तर तामाङको चिन्ता पनि उचित तटवन्ध नभएको प्रतिनै छ । बनेका संरचना तटवन्ध अभावमा बगाएर लैजाने होकी भन्दै यसतर्फ तत्काल ध्यान दिन आग्रह गर्नुहून्छ ।
त्यसो त राष्ट्रपति नहुँदासम्म विद्यादेवी भण्डारी वर्षेनी गाँजीपुर पुग्ने र शव फेला पार्ने स्थानीयलाई भेट्ने र कुराकानी गर्नुहुन्थ्यो ।
तर राष्ट्रपति भएपछि गाँजीपुर नफर्किएको स्थानीय बताउँछन् ।
उहाँकै निर्देशनमा पार्क निर्माणको काम भएको बताउने स्थानीयहरु गाँजीपुरमा राष्ट्रपति भण्डारीको प्रत्यक्ष उपस्थितीको पखाइमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्