१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीका ४७ वटा सामुदायिक वनमा आगलागी


0
Shares

म्याग्दी, चैत २५ । म्याग्दीका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ ।

सामुदायिक वनमा १० देखि १ सय ५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुर्‍याएको छ ।

आगलागीले साना–ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् ।

हावाहुरीको मौसम शुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् ।

सामान्यतया सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जङ्गलमा आगो लगाउने गरिएको पाइएको छ ।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शीर्षकमा रु १० लाख बजेटमा विभिन्न उपकरणसहितको साम्रगी व्यवस्थापन, जनशक्ति परिचालनलगायतका गतिविधि गरेको छ ।

सामुदायिक वनमा आगलागी भएपछि वातावरणीय प्रदूषण बढेको छ ।

आगलागीबाट एकातिर वनजङ्गल, जङ्गली जनावर र जडीबुटी नष्ट भएका छन् भने अर्कोतर्फ मानव स्वास्थ्यमा समेत गम्भीर असर परेको वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताएका छन् ।