२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ब्राजिलमा कोरोनाबाट एकैदिन ४ हजार धेरै व्यक्तिको मृत्यु


0
Shares

एजेन्सी । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ ।

संक्रमण सुरु भएयता ब्राजिलमा एकै दिनमै ४ हजार १ सय ९५ व्यक्तिले ज्यान गुमाएको यो पहिलोपटक हो ।

अमेरिकापछि कोरोनाबाट सर्वाधिक धेरै मृत्यु हुने देश ब्राजिल हो ।

ब्राजिलमा अहिलेसम्म ३ लाख ३७ हजारभन्दा धेरैले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

यतिबेला अस्पतालहरु विरामीले भरिभराउ हुँदा ब्राजिलको स्वास्थ्य प्रणाली धरासायी हुने विन्दूमा पुगेको छ ।

मानिसहरु उपचारको प्रतिक्षा गर्दागर्दै मृत्यु हुने अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तर राष्ट्रपति जैर बोल्सेनारोले भने महामारी नियन्त्रणका लागि राष्ट्रव्यापी लकडाउन गर्न अस्वीकार गर्नुभएको छ ।

भाइरसको असरभन्दा अर्थतन्त्रको क्षति पुग्नु थप खराब हुनसक्ने उहाँको तर्क छ । राष्ट्रपति बोल्सेनारोले स्थानीय सरकार र अदालतहरूले लागू गरेका कडाईका केही मापदण्डलाई समेत खुकुलो बनाउने प्रयास गरिरहनु भएको छ ।

मंगलबार आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै उहाँले क्वारेन्टाइन मापदण्डको कडा आलोचना गर्नुभएको थियो ।

क्वारेन्टाइनले थकान र डिप्रेसन बढाउनुका साथै बेरोजगारीतर्फ धकेल्ने राष्ट्रपतिको तर्क छ ।

२४ घण्टाभित्र ४ हजारले ज्यान गुमाएको विषयमा भने उहाँले केही कुरा उल्लेख गर्नुभएन ।

फियोक्रुज हेल्थ इन्स्टिच्युटका अनुसार ब्राजिलमा ९२ वटा विभिन्न स्वरूपका कोरोना भाइरस देखिएको जनाएको छ ।

यसमध्येको एक पी. १ वा ब्राजिली भेरिएन्ट हो । कोभिड १९ को सुरुवाती स्ट्रेनभन्दा यो भाइरस धेरै प्राणघातक हुनसक्ने अनुमान गरिएको छ ।

ब्राजिलमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ३० लाख नाघिसकेको छ ।

मार्चमा मात्रै ६६ हजार ५ सय बढीले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्राले जनाएको छ ।