
काठमाडौं, चैत २५ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टँसाइ सोचबाट मुक्त हुन नसकेको टिप्पणी गर्नुभएको छ ।
सिंहदरबारमा बुधबार आयोजित सरकारका सचिवहरुबीचको अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टँसाइ सोच प्रमुख समस्याको रुपमा रहेको बताउनुभयो ।
समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको भन्दै उहाँले परिणाम भन्दापनि प्रक्रियालाई जोड दिने गरेको आरोप लगाउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको बताउनुभयो ।
ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृतिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठने गरेको उहाँको भनाइ थियो ।
उपप्रधानमन्त्री पोखरलेलले कर्मचारीतन्त्र जडसमूह नभएकोले आफूलाई संवेदनशिल र विवेकशिल समूहको रुपमा स्थापित गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवा प्रतिको धारणा सकारात्मक बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
निजामती सेवालाई सबल र सक्षम बनाउन सेवा भित्रका कर्मचारीहरुको क्षमता विकास गर्ने र मनबोल बढाउने कार्यक्रमहरु ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
देश विकासका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने, निजी, सामुदायिक र अन्य क्षेत्रसँग समन्वय गर्न निजामती सेवा तयार रहनुपर्ने मुख्य सचिव बैरागीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्