
काठमाडौं, चैत २६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तथ्य र तथ्याङ्कमा टेकेर संसदमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएको छ ।
प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रतिपक्ष दल कांग्रेसका सांसद गगन थापाले सरकारले ३ वर्षमा गरेका कामलाई लिएर संसदमा बहस गर्न आउन प्रधानमन्त्री ओलीलाई चुनौती दिनुभयो ।
उहाँले प्रधानमन्त्री ओलीले संसद बाहिर मिथ्याङ्क प्रस्तुत गर्दै मुलुकमा सरकारले राम्रा काम गरेको र समृद्धि भएको भन्ने भाषण गर्दै हिँडेको आरोप लगाउनुभयो ।
सांसद थापाले संसद छलेर र संसदबाट भागेर नजान समेत प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
सांसद थापाले प्रधानन्त्रीले कहिले उठेर त कहिले बसेर शिलान्यास र उद्घाटन गरेर तमासा देखाएको आरोप लगाउनुभयो । विशेष समयमा बोल्दै सत्तारुढ नेकपा एमालेका सांसद महेश बस्नेतले ओलीलाई चुनौती दिएर सांसद थापाले बालहठ प्रर्दशन गरेको टिप्पणी गर्नुभयो ।
सत्तारुढ दल माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले संसदमा विश्वासको मत नलिएको प्रति प्रश्न उठाउँदै आफैले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना हुँदा पनि नैतिकता नदेखाएको भन्दै रोस प्रकट गर्नुभयो ।
उहाँले संसदलाई काम गर्न नदिएर सरकारले फेरी संसद विघटन गर्न खाजेको हो भन्दै प्रश्न गर्नुभयो ।
सत्तारुढ दल नेकपा एमालेका सांसद लालबावु पण्डितले विचाराधिन विधेयक किन अगाडी नबढाएको भन्दै सभामुखलाई प्रश्न गर्नुभयो ।
उहाँले संसदमा अहिले पनि धेरै विधेयक विचाराधिन भएपनि सरकारले काम दिएन भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभयो ।
सत्तारुढ दल एमालेकै सांसद खगराज अधिकारीले एमालेका सांसदलाई मिनी सांसद भनिने संसदीय समिति बैठकमा नेकपा सांसद भन्ने गरिएको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले संसदीय समितिमा एमाले नाममै प्रतिनिधित्व गराउन सभामुखसँग माग गर्नुभयो ।
बैठकमा अन्य सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा मधेशी र थारु आयोगको वार्षिक प्रतिवेदन पेश भएका छन् ।
यस्तै, बैठकले २०४८ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित एवम उक्त कार्यकालमा राष्ट्रियसभाको उपाध्यक्ष समेत रहेका ऐश्वर्यलाल प्रधानाङ्कको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्