
दिपेन्द्र अधिकारी
काठमाडौं, चैत २७ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न निर्वाचनको मतगणना जारी छ ।
प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारीको माधव नेपाल समूह, प्रेस मञ्च लगायतका संघ संगठनहरुको गठबन्धन नेतृत्वमा आउने निश्चित देखिएको छ ।
नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश, प्रतिष्ठान, प्रदेश परिषद् तथा राष्ट्रिय परिषद् गरि तीन हजार भन्दा बढी पदका लागि निर्वाचन भएकोमा तल्ला तहहरुको नतिजा सार्वजनिक भईसकेको छ ।
अधिकांश स्थानमा गठबन्धनका उम्मेदवारहरु निर्वाचित भइसकेका छन् भने केन्द्रमा पनि गठबन्धनका उम्मेदवारहरु नै निर्वाचित हुने प्रवल सम्भावना छ ।
प्रत्यक्ष मतदान प्रणाली मार्फत पहिलो पटक चुनाव हुन लागेकाले विगतको भन्दा केही फरक होला कि भन्ने आसा पत्रकारहरुमा रहेकोमा टिकट लिनका लागि दलकै नेतृत्व अघि सरेपछि महासंघ यस पटक पनि दलीय छायाँबाट पर रहन नसक्ने स्पष्ट भएको छ ।
राजनीतिक दलहरुको निर्णय र इच्छाशक्तिमा पत्रकारहरुले आफ्नो पेशागत नेतृत्व चुन्नुपर्ने अवस्था यस पटक पनि दोहोरियो ।
दलका नेताहरु विगतका वर्षमा भन्दा खुलेर लागेका छन्, जसले गर्दा निष्पक्ष नेतृत्व छान्ने प्रजातान्त्रिक अभ्यास भन्दा पनि चुनाव हावी भएको महासंघका पहिलो निर्वाचित सभापति किशोर नेपाल बताउनुहुन्छ ।
राजनीतिक प्रभावबाट बाहिर ननिस्कने हो भने महासंघ पत्रकारको हक हित भन्दा पनि शक्तिकेन्द्रको इशारामा चलिरहने निश्चित छ । पहिलो पटक लागु गरिएको प्रत्यक्ष मतदान प्रणालीबाट १३ हजार पत्रकारले मतदान गरेका छन् । अब महासंघमा शुद्धिकरण जरुरी रहेको देख्नुहुन्छ, महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट ।
सञ्चारकर्मीको हक हितमा काम गर्ने तथा गुणस्तरीय पत्रकारिताका लागि मिडिया सञ्चालक र सञ्चारकर्मीबीच पूलको भूमिका महासंघले खेल्नुपर्ने हो । जुन परिकल्पनाका साथ महासंघ स्थापना गरिएको थियो सो काम अलिकपति मात्रै भएको बताउहुन्छ पूर्वसभापति नेपाल ।
महासंघमा सतहमा देखिने राजनीतिक प्रभाव हो तर, भित्रि रुपमा विभिन्न स्वार्थ समूहहरु क्रियाशील हुने गरेको विष्ट बताउहुन्छ ।
पेशागत संगठनलाई पेशाकर्मीहरुकै छाता संगठन बनाउनु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो । तर पार्टी कार्यालयहरुबाट वितरण भएको टिकट लिएर चुनावमा उठेका र राजनीतिक दलका भ्रातृ संगठनहरुको रुपमा गठबन्धन गरेर चुनाव गएकाहरुले नेतृत्वमा आएर पेशागत मर्मलाई कत्तिको आत्मसात् गर्न सक्छन त्यो भने प्रतीक्षाकै विषय हुने छ ।
क्यामरा : दिलिप पोखरेल र सानु माली
प्रतिक्रिया दिनुहोस्