
काठमाडौं, चैत २७ । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहमा विदेशी पर्यटक आउने क्रम नबढेपछि व्यवसायीहरु मारमा परेका छन् ।
सौराहमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी भएपछि पर्यटक आउन छाडेका थिए ।
तर बन्दाबन्दी हटेको लामो समय भइसक्दा पनि विदेशी पर्यटक खासै देखिएका छैनन् । बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने सौराहका होटल तथा रेष्टुरेन्ट आधा क्षमतामा सञ्चालन भइरहेको व्यवसायीहरुको भनाइ छ ।
अहिले आन्तरिक पर्यटकबाट खर्च धान्नुपर्ने अवस्था रहेको व्यवसायीहरुले बताएका छन् ।
असोजदेखि चितवनमा पर्यटन व्यवसाय सञ्चालनमा आए पनि अपेक्षा अनुसार पर्यटक नआएपछि व्यवसायीले देशका विभिन्न क्षेत्र पुगेर ‘घुमौं सौराह अभियान’ सञ्चालन गरेका थिए ।
त्यसपछि कर्पोरेट हाउस, गैरसरकारी संस्था र सरकारी निकायले सौराहमा तालिम, गोष्ठी शुरु गरेपछि भने व्यवसायीहरुलाई केही राहत मिलेको छ ।
कोरोना संक्रमणको जोखिम रोकथामका लागि एक वर्ष अघि देखि भएको लकडाउनले सौराहको पर्यटन क्षेत्रमा करोडौंको क्षति भएको व्यवसायीहरुले बताउँदै आएका छन् ।
तरपनि राज्यले दिने भनेको सुविधा कागजि जटिलताका कारण लिन नसकेको गुनासो व्यवसायीहरुको छ ।
राहत प्याकेजमा सहुलियत दरको कर्जा सहज ढङ्गबाट उपलव्ध गराउनुपर्ने क्षेत्रीय होटल संघ नेपाल सौराहका उपाध्यक्ष राममणि खनालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्