
काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली सरकारबाट भएका अलोकतान्त्रिक र असंवैधानिक कामलाई संशोधन गरेर चुनावमा जान कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिएको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा गरिएको कार्यक्रममा कांग्रेस नेतृत्वमा वैकल्पिक सरकार गठन रहर नभएको भन्दै नेता सिंहले भन्नुभयो, ‘अनैतिक काम गर्ने सरकारलाई राखिराख्नु ठीक हुँदैन’ ।
कांग्रेस नेता सिंहले थप्नुभयो, ‘कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार गठन गरेर बाँकी रहेको समयमा अलोकतान्त्रिक किसिमले गठन गरेका, मनोनित गरेका, संविधानको भावनाविपरीत गरेका काम संशोधन गरेर चुनाव गराउनका लागि जोड दिनुपर्छ ।’
केही नेताले पार्टी निर्णय विपरीत अभिव्यक्ति दिएकोमा आपत्ति जनाउँदै सिंहले भन्नुभयो, ‘जनतालाई राहत दिने, संसदलाई सुचालु गर्ने भनेपछि त्यसमा इमान्दारिता सबैमा हुनुपर्यो नि होइन भने त कांग्रेस पब्लिकको नजरमा खस्किँदै जान बेर छैन ।’
ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको र असंवैधानिक काम गरिरहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । असंवैधानिक कामहरू गरिराखेको छ । हामीलाई सरकार बनाउने रहर होइन । पाँच वर्ष प्रतिपक्षमा बस्ने भनेको हो । तर यो सरकार अप्रजातान्त्रिक ढंगले अगाडि बढेपछि बाध्यता पर्यो ।’
अर्को प्रसंगमा नेता सिंहले पार्टी महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरण र नवीकरणका काम समयमै हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्