२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


नेपालमा १८ वर्षमुनिका २१ हजारभन्दा बढी बालबालिका कोरोना संक्रमित


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं, चैत २९ । कोरोना (कोभिड– १९) को दोस्रो लहर रोक्न भन्दै सरकारले ठूला शहरका विद्यालय बन्द गरि अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएपछि निजी विद्यालयका सञ्चालकहरुले असन्तुष्टि जनाएका छन् ।

उनीहरुको विद्यालय बन्दको विकल्प खोज्न सरकारलाई सुझाएका छन् । यसै विषयमा छलफल गर्न शिक्षा मन्त्रालयले भोलि सरोकारवालाहरुसँग छलफल गर्दैछ ।

नेपालमा हालसम्म २ लाख ७९ हजार तीन / चारसयको हाराहारीमा कोरोना संक्रमित हुँदा २१ हजारभन्दा बढी १८ वर्षमुनिका बालबालिका अर्थात विद्यालय जाने उमेर समूहका व्यक्ति संक्रमित भएका छन् ।
नेपालमा कोरोना भाइरसको नयाँ स्वरूप युके भेरियेन्टको बालबालिकामा संक्रमण उच्च देखिएको छ ।

एक वर्षमा ६ प्रतिशत बालबालिका संक्रमित भएकोमा पछिल्लो एक हप्तामा संक्रमण दर दैनिक १५ प्रतिशतसम्म पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याकं छ ।

कोरोना भाइरसको पहिलो चरणमा ज्येष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए  ।

तर, दोस्रो चरणमा युवा पुस्ता मात्र होइन बालबालिकासमेत उच्च जोखिममा रहेको देखिएको छ ।

बालबालिकाको लागि कोरोनाविरुद्वको भ्याक्सिन बनिसकेको छैन, जसले गर्दा पनि बालबालिकामा संक्रमण हुनु अझ जोखिम पूर्ण मानिन्छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीको शनिबारको बैठकमा संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्न तथा वैकल्पिक माध्यमलाई निरन्तरता दिने प्रस्ताव आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाको बैठक सोमबारका लागि बोलाएको छ ।

विद्यालय सञ्चालहहरुको भने अवस्था हेरी विद्यालय सञ्चालन गर्न जोड दिएका छन् ।

शिक्षा क्षेत्रको तालुकदार शिक्षा मन्त्रालय भने निर्णय प्रक्रियामा ढिलाइ गर्दा आलोचिन बन्दै आएको छ ।

विद्यालयको बारेमा आँफैले निर्णय गरि प्रस्ताव गर्नुपर्ने मन्त्रालय अन्य निकायबाट प्रस्ताव आएपछि छलफलमा जुट्ने तयारीमा छ ।

अभिभावकहरु पनि जोखिमका आधारमा विद्यालय सञ्चालन गर्नु पर्नेमा सहमत छन् ।

भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने कि बन्द भन्ने विषयमा अन्तर मन्त्रालय समन्वय देखिँदैन ।

विद्यालय, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुसलगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

यसअघि अन्य निकायसँग छलफलविना वायुप्रदुषणका कारण चार दिन विद्यालय बन्द गर्ने निर्णयको केही स्थानीय तहले अवज्ञा गरेका थिए ।

पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म ८० लाख भन्दा विद्यार्थी अध्ययनरत छन् ।