
रुपन्देही, चैत ३० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५० रुपैंयाँ तोकेको हो ।
तिलोत्तमा नगरपालिकाले गत वर्षबाट गहुँको समर्थन मूल्य तोक्न थालेको थियो ।
गत वर्ष तिलोत्तमाले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार तोकेकोमा यस वर्ष एक सय ५० रुपैंयाँ बढाएको हो ।
किसानले लागतअनुसारको लाभ प्राप्त गर्न नसकेको गुनासो किसानबाट आइरहँदा नगरपालिकाले गहुँको समर्थन मूल्य तोकेको कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिनुभयो ।
तोकिएको मूल्यमा कुनै किसानको गहुँ बिक्री नभएमा त्यसको बजारीकरण गर्ने जिम्मा नगरपालिकाले लिने जनाइएको छ ।
नगर प्रमुख एवं समितिका संयोजक बासुदेव घिमिरेले समर्थन मूल्य तोकिएपछि बिचौलियाको मनोमानी हट्ने विश्वास व्यक्त गर्नुभयो ।
तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा १ सय ३२ मेट्रिक टन गहुँको बिऊ किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो ।
जनप्रतिनिधि आएदेखिनै तिलोत्तमाका किसानले अनुदानमा गहुँको बिऊ प्राप्त गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्