२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


नेपाल र भारतको संयुक्त टोली महाकाली तटबन्धको निरीक्षणमा, सीमा सन्धि पालना गर्न नेपालको आग्रह


0
Shares

काठमाडौं, चैत ३० । महाकाली नदीमा भारतले एकतर्फी रुपमा बनाइरहेको तटबन्धको दुबै देशको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् ।

दुबै देशबाट पाँच/पाँच सदस्यीय नापी प्राविधिकको टोलीले भारतले बनाइरहेको तटबन्धको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

भारतले एकतर्फी रुपमा नदीको धार परिवर्तन हुने गरी नेपालकै भूमिमा तटबन्ध निर्माण गरिरहेको विषयमा सञ्चारमाध्यमदेखि संसदसम्म आवाज उठेपछि नेपाल सरकारले निरीक्षणका लागि टोली पठाएको हो ।

दुबै देशको प्राविधिक टोलीले संयुक्त निरीक्षण गर्दै पर्खाल ठीक ढङ्गले बनेको छ कि छैन, पर्खालका कारण नेपालतर्फ क्षति हुन्छ कि हुँदैन, अन्तर्राष्ट्रिय सीमा सन्धिअनुसार निर्माण भएको छ कि छैन भन्ने विषयमा छलफल गरेको बताइएको छ ।

दुबै देशको टोलीले स्थलगत निरीक्षण गरेकोले प्राविधिक टोली फर्किएपछि थप जानकारी प्राप्त हुने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

नेपाली पक्षसँग समन्वय नै नगरी सीमाक्षेत्रमा निर्माण भइरहेको तटबन्धको काम रोक्न जिल्ला प्रशासन कार्यालयले पटक पटक पत्राचार गरे पनि भारतले बेवास्ता गर्दै तटबन्ध निर्माणको काम अघि बढाएको थियो ।

भारतले महाकालीमा एकतर्फी रुपमा पर्खाल लगाएर नेपालतर्फको भूमि जोखिममा पर्दा पनि सरकार मौन रहेको भन्दै संसदमा समेत सरकारको आलोचना भएको थियो ।

त्यसपछि सरकारले नापी विभागका प्रमुख नापी अधिकृतको संयोजकत्वमा टोली बनाएर अध्ययन गर्नुका साथै पछिल्लो समय प्राविधिक निरीक्षणका लागि टोली पठाएको हो ।

दार्चुलाको महाकाली नगरपालिका–५, गल्फै क्षेत्रमा भारतले महाकाली नदीको बहावलाई असर पर्ने गरी नेपाली भूमिमै तटबन्ध निर्माण गरिरहेको छ ।