
काठमाडौं, असाेज १९ । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाटै नियन्त्रणमा लिएको छ । महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने जनाइएको छ ।
बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास पुगेको थियाे ।
यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले नियन्त्रणमा लिएर बयान लिनका लागि सरकारी वकिलसँग सल्लाह गरिरहेको जनाइएको छ।
संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरिएकाे हाे ।
प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ ।
रोशनीले स्वास्थ्य परिक्षण गराउन राजी भएसँगै किटानी जाहेरी दिन पनि राजी भएकी थिइन् ।
गत आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी प्रहरीमा दर्ता भएको छ ।
प्रतिक्रिया दिनुहोस्