
काठमाडौं, चैत ३१ । सगरमाथा इन्स्योरेन्स कम्पनीले नयाँ वर्षको अवसरमा ‘सगरमाथा आरोग्य पोलिसी’ बजारमा ल्याएको छ ।
स्वास्थ्य क्षेत्रमा निम्तिन सक्ने जोखिम न्यूनिकरण गर्ने लक्ष्य अनुरुप कम्पनीले आज काठमाडौमा एक कार्यक्रमकाबीच ‘सगरमाथा आरोग्य पोलिसि’ सार्वजनिक गरेको हो ।
कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमितलाई भुक्तानी दिने विषय समस्याको रुपमा रहेको भन्दै कम्पनीहरुले दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउन आवश्यक रहेको औल्याउनुभयो ।
बीमा कम्पनीहरुले मिलेमतोमा मात्रै भुक्तानी दिने गरेको उल्लेख गर्दै उहाँले त्यसलाई सुधार्न निर्देशन समेत दिनुभयो ।
मिलेमतो हुने बीमितले समय भन्दा अगाडि नै भुक्तानी पाउने तर मिलेमतो नभए भुक्तानी पाउनै नसक्ने अवस्थाको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो । यस्तै रेट कटिङ्ग र उधारो बीमा पनि बीमा कम्पनीहरुमा देखा परेको अर्को ठूलो समस्या रहेको उहाँको भनाइ थियो ।
रेट कटिङ, उधारो बीमा र भुक्तानीमा मिलेमतो लगायतका समस्यालाई सुधार नगर्दा सम्म बीमा क्षेत्रको विकास सम्भव नभएको अध्यक्ष सिलवालले बताउनुभयो ।
कार्यक्रममा कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले कम्पनीको बोर्ड निर्देशिका अनुसार नै बीमितिलाई छिटो छरितो भुक्तानी दिन प्रतिवद्ध रहेको बताउनुभयो ।
कम्पनीले ल्याएको नयाँ योजनामा ७ देखि १० लाख रुपैयाँ सम्मको व्यक्तिगत दुर्घटना जोखिम, एक देखि ५ लाख रुपैयाँ सम्मको स्वास्थ्य उपचार जोखिम र एक देखि १० लाख रुपैयाँ सम्मको गम्भिर प्रकृतिका जोखिम एकै पटकमा बहन हुने जनाइएको छ ।
यदि कुनै बीमितले ७ लाख रुपैयाँको दुर्घटना बीमा, एक लाख रुपैयाँको स्वास्थ्य उपचार बीमा र एक लाख रुपैयाँ सम्मको गम्भिर प्रकृतिका जोखिमको बीमा गर्न वर्षमा १६ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरे पुग्ने इन्स्योरेन्सले जनाएको छ ।
यस्तै कम्पनीले बीमा दाबी भुक्तानीको प्रक्रियालाई पनि सहजिकरण गरेको बताएको छ ।
बीमितले आफू अस्पतालबाट डिस्चार्ज भएको वा रोग पत्ता लागेको ७ दिन भित्रमा लिखित वा मौखिक जानकारी दिनुपर्नेछ ।
इन्स्योरेन्सले अस्पतालको बिल भरपाई, रिपोर्ट र डाक्टरको प्रेस्क्रिप्सन सहितका कागजपत्र लगायतका सबै कागजात बुझाई दाबी गरेको एक हप्ताभित्र रकम भुक्तानी गरिसक्ने कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्