७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


चिनियाँ राष्ट्रपति सि नेपालमा आउने मिति अझै गोप्य, काठमाडौं सिंगारिँदै, भारत भने शुक्रवार जाने


0
Shares

काठमाडौं, असोज २० । चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपाल आउने भनेर हिजोआज काठमाडौंको सडक सिंगारिँदै छ ।
उनी ठ्याक्कै कहिले काठमाडौं ओर्लन्छन् भन्ने मितिबारे सरकार र चीन दुबैले गोप्य राखेका छन् । यद्यपि, सि दशैं लगत्तै काठमाडौं ओर्लने बताइएको छ ।

सि आफ्नो भारत भ्रमणकै मेसो पारेर नेपाल आउने बताइएको छ । यसैका लागि सरकारले सि हिड्ने सडक धमाधम कालोपत्रे गर्दैछ । सडक दायाँबायाँ पनि सकेसम्म राम्रो देखाउन नक्कली विकास देखाइदैछ ।

काठमाडौंको तीनकुने क्षेत्रमा रातारात डोजर चलाएर पार्क बनाइदै छ । हरियाली पार्क बनाउन बोटविरुवासमेत रोपिएको छ । सरकारको यस्तो नक्कली विकास हरेक पटक विदेशी अति विशिष्ठ पाहुना आउँदा देखिन्छ ।

अघिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा होस् वा बिम्स्टेकको बैठक हुँदा यसैगरी रातारात नक्कली विकास गरेको देखाउँदै करोडौं उडाइएको थियो । यस पटक पनि सि जिन पिङलाई देखाउनकै लागि अस्थायी विकासको मूल फुटाइएको छ ।

सि आउने आधिकारिक मिति सार्वजनिक नगरिएपनि काठमाडौं रंग्याइन थाल्दा चिनियाँ राष्ट्रपति सि भारत भने आउँदो शुक्रबार भ्रमणमा जाने निश्चित भएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति सी भारत भ्रमण सकाएर नेपाल आउने बताइएको छ ।

भारत–पाकिस्तानबीच कश्मीर मामला बल्झिएका बेला सिको भारत भ्रमण हुन लागेको छ । यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खान भने सोमबारदेखि चीन भ्रमणमा छन् ।