९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


आयरल्याण्डसँग हार्यो नेपाल, १३ रनले पराजीत


0
Shares

काठमाडौं, असोज २२ । ओमानमा जारी ५ देश सम्मिलित पेन्टाकुलर सिरिजको आफ्नो तेश्रो खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ ।

नेपाली ब्याटसम्यानले राम्रो खेल्न नसक्दा नेपाल आयरल्याण्डसँग १३ रनले हारेको हो । आयरल्याण्डले ८ विकेटको क्षतिमा नेपाललाई १४६ रनको लक्ष्य दिएको थियो ।

कमजोर ब्याटिङ गर्ने क्रममा नेपालका आरिफ शेखले सर्वाधिक २६ रन जोडे ।  कप्तान पारस खड्काले २५ रन बनाए । यसैगरी ओपनिङ ब्याट्सम्यान इशान पाण्डेले १९ रन जोडे । विनोद भण्डारी, सोमपाल कामी तथा सन्दिप जोरा १० रन भित्र पेभेलियन फर्किएपछि नेपालको इनिङ ध्वस्त भएको थियो ।

आठौं नम्बरमा ब्याटिङका लागि आएका करण केसीले छिटो रन बटुल्दै नेपाललाई जिततर्फ लैजान खोजेपनि ९ बलमा १६ रन बनाएर छक्का प्रहार गर्ने क्रममा क्याच आउट भए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोडेको हो । ९५ रनमा एक विकेट गुमाएको आयरल्यान्डलाई त्यसपछि नेपाली बलरले लगातार धरासायी बनाए ।

आयरल्यान्डका ओपनर पल स्टर्लिङले ५९ र एन्डी बालबिर्नेले ३८ रन बनाउँदा तल्लो क्रमका स्टुवार्ट थम्पसनले २१ रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका सन्दीप लामिछाने र अविनास बोहोराले दुई/दुई विकेट लिँदा करण केसी र ललित राजबंशीले एक/एक विकेट लिए । आयरल्यान्ड्सले सात रन जोड्दा आक्रामक ब्याट्सम्यान केभिन ओब्रायनलाई सन्दिपको हातबाट गुमाएको थियो । खेलको दोस्रो ओभरको चौथो बलमा सन्दीप लामिछानेले ओब्रायनलाई क्याच आउट गराएका हुन् ।

नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो ।