
काठमाडौं, बैशाख ३ । शनिबारदेखि काठमाडौंमा नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वेन्टी-ट्वेन्टी क्रिकेट प्रतियोगिता हुँदैछ ।
कीर्तिपुर मैदानमा दोहोरो लिग प्रणालीमा हुने प्रतियोगिताअघि शुक्रबार तीनै देशका कप्तानले संयुक्त रुपमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन् ।
शनिबारको उद्घाटन खेलमा दिउँसो सवा १ बजे नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नेपालले दोस्रो खेल मलेसियासँग बैशाख ६ मा, तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा र अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।
लिगका शीर्ष दुई टिमले उपाधिका लागि बैशाख ११ गते फाइनल खेल्नेछन् ।
यसैबीच नेपाल क्रिकेट संघ क्यानले कम दर्शकलाई टियु क्रिकेट मैदानमा प्रवेश गराउने जनाएको छ ।
कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै स्वास्थ्य प्रोटोकलमा रहेर सीमित दर्शकलाई मात्र अनुमति दिने भएको हो ।
क्यानले खेल हेर्न डेढ सय रुपैयाँको टिकटको व्यवस्था गरेको छ ।
नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले अबको तयारी ट्वेन्टी ट्वेन्टी विश्वकपको रहेको भन्दै यो प्रतियोगिताले आफूहरुलाई अभ्यासका लागि मद्धत पुग्ने बताएका छन् ।
नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस्