
काठमाडौं, बैशाख ५ । नेपाली कांग्रेसले आइतबार डाकिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
बैठक सोमबारका लागि सारिएको कांग्रेसका एक नेताले जानकारी दिनुभयो ।
महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।
बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो ।
तर, शीर्ष नेताहरु भने छलफलमै छन्। पटक–पटक म्याद थप गर्दा समेत क्रियाशील सबै जिल्लाले क्रियाशील सदस्यता इन्ट्री गर्न सकेका छैनन्।
क्रियाशील सदस्यता इन्ट्री गर्ने अन्तिम म्याद चैत मसान्तलाई तोकिएको थियो ।
तर, तोकिएको समयसिमामा केही जिल्लाले इन्ट्री थालेका छैनन् ।
क्रियाशील सदस्यता तोकिएको समयमा इन्ट्री सुरु नहुँदा महाधिवेशनको कार्यतालिका नै परिवर्तन गर्नुपर्ने स्थिती छ ।
कार्यतालिका हेरफेरको विषयमा शीर्ष नेताहरुबीचाम मतभेद देखिएपछि बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।
‘शीर्ष नेताहरुबीच सहमति हुन सकेन । जसका कारण तयारी नपुगेको भन्दै एकाएक बैठक स्थगीत भयो,’ ती नेताले भने ।
यस्तै चैत २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कांग्रेस कसरी अघि बढ्नेमा अन्यौलमा देखिन्छ । सत्ता समिकरणका विषयमा समेत कसरी अघि बढ्ने भन्ने विषयमा शीर्ष नेताहरु एकमत छैनन् ।
प्रतिक्रिया दिनुहोस्