
काठमाडौं, बैशाख ५ । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेराबन्दी गर्न खोजिएको जिकीर गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजित सर्वदलीय बैठकमा एमसीसी सम्झौतालाई सभामुख सापकोटाले अनुमोदन हुनबाट रोकेको आरोप लगाएको भोलिपल्ट सभामुखले घेराबन्दीको प्रशंग निकाल्नु भएको हो ।
नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रधानमन्त्रीको नाम नलिई आफुले कसैको दवावमा काम नगर्ने बताउनुभयो ।
संसदलाई जनमूखी बनाउन थालेपछि घेराबन्दी गरिएको र विभिन्न अभिव्यक्ति आउने गरेको भन्दै उहाँले कुनै व्यक्ति वा अधिकारीबीचको टक्कर नभई प्रवृत्तिबीचको टक्कर भएको जिकिर गर्नुभयो ।
एमसीसी सम्झौता झण्डै दुई वर्षदेखि रोकेको भन्दै प्रधानमन्त्री ओलीले लगातार सभामुखको आलोचना गर्दै आउनुभएको छ ।
शनिवारको सर्वदलिय बैठकमा पनि प्रधानमन्त्री ओलीले सभामुखको तिव्र आलोचना गर्दै एमसीसीलाई संसदको विजनेश बनाउन दलहरुको सहमति खोज्नुभएको थियो ।
मुख्यगरी सत्तारुढ दलभित्र सहमति जुट्न नसक्दा लामो समयदेखि एमसीसी सम्झौता संसदमा निर्णयार्थ प्रस्तुत हुन सकेको छैन् ।
सम्झौता संसदबाट अनुमोदन हुन नसक्दा एमसीसी सम्झौता अन्र्तगत अमेरिकाबाट नेपाललाई प्रदान गर्ने भनिएको ५० करोड डलर बराबरको आर्थिक सहायता रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्