
काठमाडौं, बैशाख ७ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको लागि अर्थ मन्त्रालयले तोकेको बजेट सिलिङ्गलाई लिएर संसदीय समिति सामु असन्तुष्टि पोखेको छ ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा मन्त्रालयका सचिवद्वय डा. योगेन्द्र कुमार कार्की र डा. पेम नारायण कँडेलले आगामी आर्थिक बर्षको बजेट सिलिङ्गलाई लिएर असन्तुष्टी पोख्नु भएको हो ।
बैठकमा कृषि विकास सचिव डा. कार्कीले आगामी आर्थिक बर्षका लागि कृषि क्षेत्रलाई छुट्याइएको बजेट सन्तोषजनक नरहको बताउनुभयो ।
उहाँले आगामी आर्थिक बर्षका लागि अर्थमन्त्रालयले जम्मा ३२ अर्ब रुपैयाँ मात्रै छुट्याएको बताउनुभयो ।
जुन रकम चालु आर्थिक बर्षको तुलनामा करिब १५ प्रतिशतले कम रहेको छ ।
सरकारले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा कुल ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
बजेटको सिलिङ्ग कम भएर आउँदा कार्यक्रम निर्माण गर्न कठिन भएपनि सिलिङ्ग भित्रै बसेर कार्यक्रमहरु तयार पारिएको बताउनुभयो ।
अहिले नेपालमा ७ अर्बको स्याउ, ३ अर्बको आलु, ४ अर्बको कागती, ५ अर्बको प्याज आयात भइरहेकोले आगामी वर्षको बजेट मार्फत तिनै क्षेत्रमा केन्द्रीत भएका कार्यक्रमहरु ल्याउन लागिएको पनि सचिव कार्कीले बताउनुभयो ।
यस्तै निर्यात हुँदै आएका बस्तुहरु चिया, कफि, अलैची, बेसार, अदुवालाई थप प्रवद्र्धन गर्ने किसिमले पनि कार्यक्रमहरु ल्याइने बताउनुभयो ।
बैठकमा पशुपन्छी विकास सचिव डा. कँडेलले सम्भावनाका साथै रोजगारी समेत उल्लेख्य भएको कृषि क्षेत्रमा राज्यको प्राथमिकता नदेखिएको बताउनुभयो ।
उहाँले कृषि क्षेत्रमा राज्यको प्राथमिकता नदेखिएको भन्ने कुरालाई बजेटको आकारले नै पुष्टि गरेको बताउनुभयो ।
कृषि क्षेत्रको विकासका लागि प्राथमिकता दिएर अगाडी बढ्न आवश्यक रहेको पनि सचिव कँडेलले बताउनुभयो ।
बैठकमा समितिका सदस्यहरुले माछा मासुमा नेपाल आत्मनिर्भर रहेको भन्दै सरकारले घोषणा गर्दै हिडे पनि छिमेकी मुलुक भारतबाट खुला रुपमा आयात भइरहेको प्रति प्रश्न गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्