
काठमाडौं, बैशाख ७ । नेपालमा पूर्वाधार, उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापना भएको छ ।
२०७७ चैत्र ३० मा एनआरएन. नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड कम्पनी रजिष्ट्रार कार्यालयमा विधिवत रुपमा दर्ता भएको होे ।
कम्पनीको अधिकृत पूँजी. १० अर्ब रहेको छ । कोषको अध्यक्षमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो चयन हुनुभएको छ ।
प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अनलराज भट्टराईले पाउनुभएको छ ।
कोषकोे यही वैशाख २९ गते गरिने विशेष साधारण सभाबाट कम्पनीको पूँजी वृद्धि गर्ने एजेण्डा समेत तय गरिएको संघले जनाएको छ ।
यस कम्पनीमा संस्थापकको रुपमा लगानी गर्न चाहने गैरआवासीय नेपालीहरुले सो मिति अगावै न्यूनतम ५० लाखको प्रतिवद्धतापत्र संघको सचिवालयमा पठाउन सक्नेछन् ।
पाँच प्रतिशत लगानीसहित सरकारसमेत प्रवद्र्धक रहेको यस कम्पनीमा ३ अर्बको प्रतिबद्धता प्राप्त भइसकेको जनाइएको छ ।
कम्तीमा १० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ । ८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर निष्काशन हुने जनाइएको छ ।
कोषबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सबै हिसाबले लगानीमैत्री भएको भन्दै लगानी दूतको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीलाई आग्रहगर्नुभयो ।
कानूनी र नीतिगत रुपमा विदेश पूँजी भित्राउन प्रतिबद्ध रहेको बताउँदै छरिएर रहेको पूँजीमात्र नभै, विदेशी पूँजी पनि ल्याउन सरकार क्रियाशील रहेको बताउनुभयो ।
लगानी राष्ट्रको प्राथमिकतामा वैध स्रोत र बैंकिङ प्रणालीबाट मात्र हुन भने जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले केही वर्षमा फण्डमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँ भन्दा बढी पुर्याउने बताउनुभयो ।
फण्डको अध्यक्षमा संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो रहनुभएको छ । नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ ।
गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर निष्काशन गरिने योजना रहेको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्