२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारले ६५ अर्ब बढी भुक्तानी दिएन : निर्माण व्यवसायी


0
Shares

काठमाडौं, बैशाख ८ । निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दा बढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन गरी सरकारबाट विभिन्न आयोजनामा परिपक्व भएको बिल बापतको ६५ अर्ब रुपैयाँ बढी रकम पाउन बाँकी रहेको बताएका हुन् ।

कतिपय आयोजनाको म्याद थप नगरिदिएका कारण परिपक्व भएको बिल भुक्तानीका लागि पेस गर्न नपाएको समेत उनीहरुको भनाई छ ।

महासंघका अध्यक्ष रवि सिंहले चालु आर्थिक वर्षमा म्याद थप नभएका आयोजनामा मात्रै ६५ अर्ब रुपैयाँ बढी भुक्तानी लिन बाँकी रहेको बताउनुभएको हो ।

त्यस बाहेक पनि भुक्तानीका लागि माग भएको अवस्थामा समेत भुक्तानी नभएको उहाँले बताउनुभयो ।

समय अवधि पुरा भएका आयोजनाको म्याद थप नभएको अवस्थामा कानूनी रुपमा नै निर्माण कम्पनीले बिल पेस गर्न नपाउने हुँदा रकम निकाशाका लागि माग गर्न नसकेको बताउनुभयो ।

सरकारले आयोजनाको म्याद थप नगर्ने र भुक्तानी पनि नहुने स्थिति आएमा आफूहरु सडक आन्दोलन गर्न बाध्य हुने पनि अध्यक्ष सिंहले बताउनुभयो ।

म्याद सकिएका कुनैपनि आयोजनाको तत्काल म्याद थप गर्न पनि उहाँले माग गर्नुभयो ।

पत्रकार सम्मेलनमा महासंघको २२ औं साधारणसभाले जारी गरेको ४१ बुँदे घोषणा पत्र सार्वजनिक गरिएको छ ।

जसमा ‘सार्वजनिक खरिद ऐन–२०६३’का कतिपय प्रावधनलाई संशोधन गरिनुपर्ने माग रहेको छ ।