नेपालले आयरल्यान्डलाई रोक्यो १४५ रनमा, नेपाली बलरहरुको उत्कृष्ट कमब्याक

news

काठमाडौं, असोज २२ । ओमानमा जारी पाँच देश सम्मिलित टि–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत आयरल्यान्डले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोडेको हो । ९५ रनमा एक विकेट गुमाएको आयरल्यान्डलाई त्यसपछि नेपाली बलरले लगातार धरासायी बनाए ।

आयरल्यान्डका ओपनर पल स्टर्लिङले ५९ र एन्डी बालबिर्नेले ३८ रन बनाउँदा तल्लो क्रमका स्टुवार्ट थम्पसनले २१ रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका सन्दीप लामिछाने र अविनास बोहोराले दुई/दुई विकेट लिँदा करण केसी र ललित राजबंशीले एक/एक विकेट लिए । आयरल्यान्ड्सले सात रन जोड्दा आक्रामक ब्याट्सम्यान केभिन ओब्रायनलाई सन्दिपको हातबाट गुमाएको थियो ।

खेलको दोस्रो ओभरको चौथो बलमा सन्दीप लामिछानेले ओब्रायनलाई क्याच आउट गराएका हुन् । त्यसपछि स्टर्लिङ र बालबिर्नेबीच दोस्रो विकेटका लागि ८७ रनको साझेदारी भयो ।

आयरल्यान्डले ११ ओभर २ बलमा एक विकेट गुमाएर ९५ रन जोडेको थियो । दोस्रो विकेटमा बालिबिर्नीलाई ललितले आउट गरेपछि आईरिस टोली ओरालो लागेको हो ।

खेलमा करन र दीपेन्द्र सिंह ऐरीले एक एक रनआउट समेत गराए । अघिल्ला दुई खेल जितेको नेपाल उच्च मनोबलमा छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो ।
ओमान २ खेलबाट चार अंक जोडेर शीर्षस्थानमा छ । आयरल्यान्डको ३ खेल र नेपालको दुई खेलबाट समान ४ अंक छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...