२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


एमाले अध्यक्ष ओली र नेता नेपालबीच आज पनि संवाद


0
Shares

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच आज पनि संवाद हुँदैछ ।

अध्यक्ष ओली र नेता नेपाल पक्षबीचको अहं र एकार्कालाई सिध्याइदिनेसम्मको धम्कीका कारण विभाजनको डिलमा पुगेको पार्टी एकता रोक्ने प्रयासस्वरुप बुधबार साँझदेखि दुई नेताबीच संवादको प्रयास थालिएका छन् ।

पानी बाराबारको स्थितिमा रहेका दुई नेताबीच बुधवार काठमाडौंको होटल मेरियटमा करिब दुई घण्टा संवाद भएको थियो । आज पनि सोही स्थानमा सहमतिका लागि वार्ता गरिने जनाइएको छ ।

नेकपा खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई अलग अलग पार्टीका रुपमा सर्वोच्च अदालतले मान्यता दिएपछि अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई पाखा लगाउने गतिविधि गरेको आरोप नेपाल पक्षको छ ।

ओलीले एकपछि अर्को गर्दै नेपाल पक्षीय नेतामाथि कार्वाहीको डण्डा बर्साउन थालेपछि नेपाल पक्षले पनि देशभर समानान्तर गतिविधि गर्न थालेको छ । जसले एमाले कुनै पनि बेला दुई टुक्रामा विभक्त हुने खतरामा छ ।

नेकपा एमालेको अबको बाटो कस्तो हुनेछ भन्ने ओली र नेपालबीच आज हुने वार्ताले तय गर्ने विश्लेषकहरुको आंकलन छ ।

ओलीसँग भेट्नुअघि माधव नेपालले आफूनिकट नेताहरूसँग बुधबार गरिएको वार्ताको जानकारी गराउनुभएको छ ।

नेपालले ओलीले आफूपक्षीय नेताहरुको अनुपस्थितिमा गरिएका निर्णयहरु फिर्ता लिनुपर्ने बताउँदै आउनुभएको छ भने ओलीले नेपालसहितका नेताले माफी मागेर पार्टीमा फर्कन भन्दै आउनुभएको छ ।

बुधबार के के विषयमा कुराकानी भयो र दुई नेताका अडान र लचकता कस्तो थियो भन्नेमा दुबै पक्षले सार्वजनिक नगरेकाले संवादलाई सफलतामा टुंग्याउन दुबै नेतामाथि तीब्र दबाब परेको भने बुझ्न सकिन्छ ।

यता, संवाद हुँदै गर्दा उता नेपालसहितका नेता भने ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारीमा छन् । वैशाख ७ मा ओलीले माधव नेपालसहित २७ जना सांसदलाई दुई दिनभित्र स्पष्टीकरण दिन पत्र पठाउनुभएको थियो ।