१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खुलामञ्चको बसपार्क हट्दै, छोटो दूरीका सवारी ‘पिक एण्ड ड्रप’ प्रणालीबाट


0
Shares

काठमाडौं, बैशाख ९ । बैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हट्ने भएको छ ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

खुला मञ्च खाली गराई त्यहाँका संरचना हटाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ ।

यहाँबाट सञ्चालन हुने सार्वजनिक सवारीलाई २ वटा विकल्प दिइएको छ ।

टिकट काउन्टर राखेर चलेका मध्यम दूरीका गाडी गोंगबु बसपार्कबाट सञ्चालन हुनेछन् भने छोटो दूरीका सवारी ‘पिक एण्ड ड्रप’ प्रणालीबाट चल्नेछन् ।

पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सन्दर्भमा सार्वजनिक सूचना प्रकाशन गरिने बताइएको छ ।

यातायात सञ्चालकहरुबाट प्राप्त निवेदनका आधारमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्ने सहमति भएको छ ।

साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौं टावर निर्माण हुने भएपछि २०७३ सालमा निश्चित अवधिका लागि भन्दै खुला मञ्चमा बसपार्क चलाइएको थियो ।

तर, काठमाडौं टावर समयमै नबन्दा खुला मञ्चबाटै लामो समयसम्म बसपार्क चल्दै आएको छ ।