१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कम्युनिष्ट पार्टी ७२ वर्षपूरा हुँदा दर्जन बढी कम्युनिष्ट पार्टी अस्तित्वमा


0
Shares

खिलनाथ ताजपुरीया

काठमाडौं, बैशाख ९ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७२ वर्ष पूरा भएको छ ।

२००६ साल बैशाख ९ गते आजकै दिन गठन भएको नेपाल कम्युनष्टि पार्टीले ७२ वर्ष पार गर्दा मुलुकमा दर्जन बढी कम्युनिष्ट पार्टी अस्तित्वमा छन् ।

जहाँनिया राणा शासनकालमा रुसी क्रान्तिका नायक भ्लादिमिर लेनिनको जन्मजयन्ती पारेर भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टी गठन गरिएको थियो ।

पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको नेकपा एक दशक नवित्दै विभिन्न समूहमा विभक्त हुन थालेको थियो ।

व्यक्तिगत इगोलाई सिद्धान्तको लेपन लगाउँदै विभाजित हुने नेपालका कम्युनिष्टहरुको विशेषता शुरु देखिकै हो ।

मुलुकमा पंचायति ब्यवस्था कायम रहुन्जेल अर्थात २०४६ सम्म आइपुग्दा झण्डै दर्जन बढी कम्युनिष्ट पार्टीहरुको उदय भईसकेको थियो ।

आमूल परिवर्तनको नारा दिने कम्युनिष्ट घटका विभिन्न समूहले बेला बेलामा हिंसा्रत्मक आन्दोलन पनि नगरेका होइनन् ।

झापा काण्डदेखि दश वर्षे सशस्त्र युद्धसम्मका हिंसात्मक गतिविधिले पनि अपेक्षाकृत परिवर्तन गर्न नसकेपछि अन्ततः संयुक्त आन्दोलन मार्फत मुलुक गणतन्त्रमा प्रवेश गर्यो ।

२०५१ सालमा मुलुकमा पहिलो पटक कम्युनिष्ट सरकार बन्यो भने २०६४ सालपछि त आधा दर्जन कम्युनिष्ट नेताहरु प्रधानमन्त्री बनिसकेका छन् ।

२०७४ सालको निर्वाचन अघि एकीकृत कम्युनिष्ट बनाउने भन्दै गरिएको चुनावी गठबन्धनले तत्कालिन ठूला कम्युनिष्ट पार्टीहरु एमाले र माओवादीबीच एकीकरण पनि संभव गरायो ।

तर उक्त एकता प्रक्रिया तीन वर्ष वित्न नपाउँदै भताभुङ्ग बनेको छ ।

एमाले र माओवादी आ–आफ्नो हैसियतमा फर्किएका छन् भने यी पार्टीका नेताहरु अहिले कसले कसलाई खुइल्याउने भन्ने होडमा छन् ।

त्यसमाथि तीन दशक यता नेपालको राजनीतिमा पकड जमाउन सफल नेकपा एमाले पनि विभाजनको संघारमा छ ।

२०७४ को निर्वाचनबाट नेपालमा झण्डै दुई तिहाई बहुमतसहितको कम्युनिष्ट पार्टीको सरकार बनेपछि ५० वर्ष एकछत्र शासन गर्ने हुँकार गरेका कम्युनिष्ट नेताहरु अहिले सोही सरकार कसैगरी हटाउने अभियानमा छन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीमा बस्नै नदिएको गुनासो गर्दै माधव नेपाल पक्ष मुलुकमा फेरि अर्को कम्युनिष्ट पार्टी जन्माउने अभियानमा छ ।

कुनै पनि बेला नयाँ कम्युनिष्ट पार्टी घोषणा हुनसक्ने अवस्था देखिउको छ ।