
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पले भत्काएका विद्यालयहरुको पुनर्निर्माणको लक्ष्य पूरा हुन लागेको दाबी गरेको छ ।
पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले बिहीबार राजधानीमा गरेको कार्यक्रममा ३१ जिल्लामा भूकम्पले क्षति पुर्याएका ९ हजार ७२ विद्यालय मध्ये ७ हजार ५५३ विद्यालय पुनः निर्माण गर्नुपर्नेमा हालसम्म ६ हजार २४६ वटा विद्यालय भवनको पुनर्निर्माण भइसकेको जानकारी दिएको हो ।
बाँकी विद्यालय भवनहरुको पुनर्निर्माण आगामी असार मसान्तसम्ममा सकिने दाबी पनि गरिएको छ ।
पुनर्निर्माण गर्नुपर्ने ३२७ विद्यालय मर्ज भएको र एक सय ५३ विद्यालय बन्द भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) निर्देशक रामशरण सापकोटाले बताउनुभयो ।
एकाइले विद्यालय व्यवस्थापन समिति मार्फत ४ हजार ९३३, निर्माण व्यवसायी मार्फत ५५४ र गैरसरकारी संस्था मार्फत ७५९ विद्यालय भवन पुनर्निर्माण गरिएको र बाँकी रहेका मध्ये व्यवस्थापन समति मार्फत १ हजार १२१, निर्माण व्यवसायी मार्फत १७५ र गैससरकारी संस्थामार्फत ११ विद्यालय पुनर्निर्माण गर्ने जनाइएको छ ।
विद्यालय पुनर्निर्माणका लागि एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख रुपियाँ आवश्यक पर्नेमा हालसम्म ५३ अर्ब १९ करोड ३९ लाख रुपियाँ खर्च भइसकेको छ ।
चालु आर्थिक वर्षका लागि १८ अर्ब ६० करोड ३४ लाख रुपियाँ विनियोजन गरिएको छ भने दातृ निकायबाट अनुमान गरिए जति रकम प्राप्त नभएकोले रकम अभाव भएको पनि सो एकाइले जनाएको छ ।
३८ वटा क्याम्पस १ प्राविधिक शिक्षालय सहित ३९ क्याम्पस र त्रिभुवन विश्व विद्यालयका आंगिक क्याम्पसको डिपीआर तयार पार्ने काम भइरहकाले आर्थिक वर्ष २०८०÷८१ सम्ममा सम्पूर्ण शैक्षिक संस्थाको पुनः निर्माण सक्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्