२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक


0
Shares

काठमाडौं, बैशाख ९ । नेपालमा आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८.८ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५÷७६ का अनुसार यस अवधिमा कूल प्रत्यक्ष बैदेशिक लगानी १८२ अर्ब ९२ करोड कायम रहेको हो ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ४८.२ प्रतिशत, रिजर्भ ४२.८ प्रतिशत र कर्जाको अंश ९.० प्रतिशत रहेको जनाइएको छ ।

रिजर्भको अंश २७.० प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ देशहरूको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् रु.५६ अर्ब ५ करोड र त्यसपछि क्रमशः चीनबाट रु.२७ अर्ब ५६ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट रु.२४ अर्ब ९४ करोड, आयरल्याण्डबाट रु. ११ अर्ब ५९ करोड र सिङ्गापुरबाट रु.८ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको देखिन्छ ।

सेवा क्षेत्रअन्र्तगत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको देखिन्छ ।

त्यसै गरी, औद्योगिक क्षेत्रअन्र्तगत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र जलविद्युत क्षेत्रमा २०.० प्रतिशत वैदेशिक लगानी रहेको देखिएको केन्द्रीय बैंकले जनाएको छ ।