
काठमाडौं, बैशाख १० । नेपाल पत्रकार महासघंले कोरोनाको दोस्रो लहर फैलिएकाले पत्रकार र सञ्चारकर्मीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन माग गरेको छ ।
स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई पनि आग्रह गरिएको छ ।
महासंघको शुक्रबार बसेको पदाधिकारी बैठकले सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन सञ्चारगृहहरुको ध्यानाकर्षण गराएको हो ।
समाचार कक्षमा सामाजिक दूरी कायम गर्ने, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउने, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न र प्रविधिको उच्चतम् प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्नुपर्ने माग गरिएको छ ।
समग्र विषयको अनुगमन तथा समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा उपाध्यक्षद्वय बाला अधिकारी, उदय जिएम, सचिव पवन आचार्य र नारायण किलम्बुका साथै प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्य रहेको टोली पनि गठन गरिएको छ ।
त्यसैगरी कोभिड–१९ को दोस्रो लहरको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान र समन्वय गर्न समिति गठन गरिएको छ ।
महासचिव रोशन पुरीको संयोजकत्वमा सचिव गोविन्द चौलागाईं, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, कोषाध्यक्ष कलेन्द्र सेजुवाल लगायत केन्द्रीय सदस्यहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्