१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारबाटै स्वास्थ्य मापदण्ड उल्लङ्घन


0
Shares

अक्कल कुँवर
काठमाडौं, बैशाख १२ । नेपालमा पनि कोरोना संक्रमण तिब्र गतिमा फैदिँदै छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणको दोस्रो लहर ४ दिनमा दोब्बरको दरले बढिसकेको छ । मुलुकका मुख्य शहरहरुमा संक्रमण दर नियन्त्रण बाहिर जाने खतरा बढेको छ । तर, सरकार भने महामारी रोकथाम र नियन्त्रणमा गम्भिर भएर लाग्नुको सट्टा आफैले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लङ्घन गरिरहेको छ ।

बैशाख ६ गतेको मन्त्रिपरिषद् बैठकले संक्रामक रोग ऐन २०२० अनुसार स्वास्थ्य मापदण्डको आदेश जारी गर्दै २५ जना भन्दा बढी एकै ठाउँमा भेला हुन नदिने लगायतका आदेश जारी गर्‍यो ।

तर, सोही दिन दिउँसो नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले २ सय ६५ जना नेता उपस्थिति राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक राख्नुभयो ।

स्वास्थ्य मापदण्ड जारी गरेको २४ घण्टा नबित्दै सबैभन्दा पहिले प्रधानमन्त्री ओलीले नै आफैले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्नुभयो ।

स्वास्थ्य मापदण्ड आदेश जारी गरेको भोलिपल्ट बैशाख ७ गते प्रधानमन्त्री ओलीले आफ्नै निवाश बालुवाटारमा सयौँ मान्छे जम्मा गरेर सीतारामको मूर्ति अनुष्ठान गर्नुभयो ।

देवघाट हुँदै चितवनको माडी पुग्ने सयौँ व्यक्ति सहभागि शोभायात्रालाई बालुवाटारबाट बिदाई गर्नुभयो ।

बैशाख ९ गते पार्टी कार्यकर्ताको दलबलसहित प्रधानमन्त्री ओलीको उपस्थितिमा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सारियो भने सोही दिन सयौँ कार्यकर्ताको उपस्थितिमा बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्नुभयो ।

स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्न प्रधानमन्त्री ओली यतिमै रोकिनुभएन । कोरोनाको बढ्दो संक्रमण देखाउँदै प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्नुभएका ओलीले सोही संख्या बराबरको पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैशाख १० र १२ गते पनि बैठक राख्नुभयो ।

कोरोना संक्रमणको दर तिव्र भईरहेको बेला बैशाख ११ गते स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै प्रधानमन्त्री ओलीले पुनःनिर्मित धरहराको उद्घाटन गर्नुभयो ।

प्रधानमन्त्री ओलीले यस्ता गतिविधि जारी राखिरहँदा स्वास्थ्य मन्त्रालय मुलुकको स्वास्थ्य संरचनाले धान्नै नसक्ने गरी संक्रमित बढ्ने चेतावनी पनि दिई नै रहेको छ ।

तर, मुलुकको शासन चलाईरहनुभएका प्रधानमन्त्री ओली भने महामारी नियन्त्रणको लागि आवश्यक रणनीति,पूर्वाधार निर्माण,स्वास्थ्य सामाग्रीको आपूर्ति रणनीतिमा व्यस्त रहनुको सट्टा आफै स्वास्थ्य मापदण्ड उल्लङघन गर्दै उद्घाटन,शिलान्यासको व्यस्ततालाई निरन्तरता दिईरहनु भएको छ ।

प्रधानमन्त्री ओली राष्ट्रिय आवश्यकता भन्दा आफ्नै दलको झमेलामा रुमल्लिनुभएको छ । सरकार प्रमुखका यस्ता क्रियाकलापले सर्वसाधारणलाई दिइने अर्तिको उपहास गरेको छ ।