
काठमाडौं, बैशाख १२ । सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सहभागि सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षा गर्न माग गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद महेश्वरजंग गहतराजले सीमावर्ती जिल्लाहरुका स्वास्थ्यकर्मीहरुले हात उठाइसकेको अवस्थामा समितिले सरकारलाई आफैले गरेका निर्णयहरु कत्तिको कार्यान्वयन गरिरहेको छ भन्ने सम्बन्धमा जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने बताउनुभयो ।
जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहाय प्रसाद यादवले राज्यले आफै मापदण्ड बनाई नागरिक र विभिन्न निकायहरुलाई कार्यान्वयन गर्न निर्देशन दिने तर आफैले विभिन्न मेला गर्ने, भिडभाड गर्ने, उद्घाटनको नाउँमा भिड गराउने काम गरिरहेको बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कंडेलले सरकारसँग भएका अक्सिजन प्लान्टहरु विगारेर कमिसनको खोजिमा हिंडने र जनतालाई हाहाकार बनाएर सहुलियतको कुरा गरिरहेको पनि बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा भएको अक्सिजन विदेश पठाएर खरिदका लागि व्यवसायीलाई सहुलियत दिन खोजिएको भन्दै आपत्ति जनाउनुभयो ।
बैठकले कोरोना रोकथाम र नियन्त्रण तथा संक्रमित विरामीको उपचारका लागि के कस्तो काम भइराखेको छ भन्ने समबन्धमा विभिन्न ठाउँमा पुगेर अनुगमन गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्