१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोना प्रभावित अर्थतन्त्रका लागि सहुलियत आगामी वर्षमा पनि दिन चेम्बरको आग्रह


13
Shares

काठमाडौं, बैशाख १३ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ ।

नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि चेम्बरका तर्फबाट सुझावहरू पेश गर्नुभएको हो ।

अध्यक्ष मल्लले बजेटको आकार ठूलो भन्दा पनि कार्यान्यवन गर्न सकिने हुनुपर्ने बताउनुभयो ।

कोभिड १९ महामारीको प्रकोपबाट समग्र अर्थतन्त्र र जनजीवन लामो समयसम्म प्रभावित हुने अवस्था रहेकाले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेटको लक्ष्य निर्धारण अध्यक्ष मल्लले आग्रह गर्नुभयो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कोरोना प्रभावित अर्थतन्त्रका लागि दिएका सम्पूर्ण सहुलियतपूर्ण व्यवस्थाहरूलाई आगामी वर्षमा पनि निरन्तरता दिन माग गर्नुभयो ।

अर्थ मन्त्री पौडेलले चेम्बरले बजेट तर्जुमाका लागि दिएका सुझावहरू अध्ययन गरी बजेटमा सम्बोधन गर्न प्रयास गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको ५० अर्बको स्टिमुलस प्याकेज पूर्णरुपमा कार्यान्यवनमा आएको छैन ।

चेम्बरले कोरोना महामारीको प्रभाव निरन्तर रहेको वर्तमान अवस्थामा आगामी आर्थिक वर्षको बजेटमा ३ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेगरि जीडीपीको ५ प्रतिशत राहत प्याकेज व्यवस्था गर्न आग्रह गरेको छ ।

खुद्रा कारोबारलाई सरलीकरण र सहजीकरण गर्न ५० लाखको थ्रेसहोल्ड वृद्धि गरी एक करोड रुपैयाँ कायम गर्न पनि चेम्बरले माग गरेको छ ।

मूल्य अभिवृद्धि करको एकल दर प्रणाली अन्त्य गरी दुई तहको अत्यावश्यक वस्तुमा १० प्रतिशत नबढ्नेगरी भ्याट कायम गर्न पनि चेम्बरले सुझाएको छ ।