
काठमाडौं, बैशाख १४ । नेकपा माओवादी केन्द्रले कोभिड–१९ विरुद्धको अभियानका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले कोभिड रोकथाम र नियन्त्रणका लागि सरकार, राजनीतिक पार्टी, नागरिक समाज, स्वाथ्यकर्मी, जनस्वास्थ्यविद् सबै एकताबद्ध भएर हातेमालो गर्दै अघि बढ्न अपील गरेको छ ।
माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिडको बहुआयामिक प्रभावलाई संबोधन गर्न सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको बताउनुभयो ।
बैठकले भारतमा संक्रमण बढेकाले सीमाहरुमा कडाईपूर्वक नियन्त्रण गर्न र नेपाल आउनेलाई परीक्षण लगायतका मापदण्ड पूरा गरि मात्र आउन दिन आग्रह गरेको छ ।
डेडिकेटेड कोभिड–१९ अस्पताल बनाउन, अक्सिजन, आईसीयू भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित पनि माग गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
बैठकले महामारीका कारण मजदुर, किसान र विपन्नलाई छाक टार्न नै समस्या हुने अवस्था आउने भन्दै राहत प्याकेज ल्याउन पनि सरकारसँग माग गरेको छ ।
सैबीच माओवादी केन्द्रले आफ्नो सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ ।
मंगलबारको स्थायी कमिटीकोे बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी पारित गरेको अन्तरिम विधानअनुसार केन्द्रीय समितिदेखि सबै समितिमा ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्नेछ ।
त्यसैगरी पार्टीका सबै समितिमा ४० वर्षसम्मका युवाहरु कम्तीमा २० प्रतिशत राखिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । माओवादीको केन्द्रीय समिति बढीमा २ सय ९९ सदस्यीय रहने छ ।
प्रतिक्रिया दिनुहोस्