
काठमाडौं, बैशाख १६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खेमबिक्रम शाहीलाई लुकाउन संघीय सरकारले शक्ति प्रयोग गरेको आरोप लगाउनुभएको छ ।
आफ्नै निवास बोहोराटारमा आज सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालले पड्यन्त्रमा पारेर सांसद शाहीलाई लुकाएको आरोप लगाउनुभएको हो ।
नेता पौडेलले प्रदेश सांसद शाहीको नक्कली पीसीआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथी कारबाही र घटनाको छानबिन गर्न माग गर्नुभयो ।
नेता पौडेलले सांसद शाहीलाई अपहरण शैलीमा अस्पताल लगेर बन्धक बनाउनु राजनीतिक सिद्धान्त र निष्ठामा रहेको जनमोर्चाको आदर्शमाथि एमालेले प्रहार गरेको आरोप समेत लगाउनुभयो ।
आफ्नो निष्ठालाई जोगाउन पनि जनमोर्चाले सांसद शाहीमाथी तत्काल कारबाही गर्नुपर्ने नेता पौडेलको माग छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने समयमा सांसद शाही एकाएक गायब भएका थिए ।
पछि उनी अस्पतालको सघन कक्षमा भर्ना भएका खुलेको थियो । जनमोर्चाले पनि सांसद शाहीको स्थिति सार्वजनिक गर्न माग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्