१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


उपनिर्वाचनका लागि ५ वटा राजनीतिक दल दर्ता


0
Shares

काठमाडौं, बैशाख १६ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि निर्वाचन आयोगमा ५ राजनीतिक दल दर्ता भएका छन् ।

आगामी जेठ ६ गते तय गरिएको वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि ५ वटा राजनीतिक दल दर्ता भएका हुन् ।

निर्वाचन आयोगले बिहीबार राजनीतिक दल दर्ता टुङ्गो लगाउँदै क्रम निर्धारण, निर्वाचन चिन्ह तथा मतदाता नामावली पनि टुङ्गो लगाएको छ ।

आयोगका अनुसार नेकपा एमालेलाई सूर्य चिन्ह प्रदान गर्दै पहिलो नम्बरमा दर्ता गरिएको छ ।

यस्तै, नेपाली कांग्रेसलाई रुख चिन्ह प्रदान गर्दै दोस्रो नम्बरमा दर्ता गरिएको छ ।

गोलाकार हँसिया हथौडा चिन्हसहित माओवादी केन्द्र तेस्रो, हलो चिन्हसहित राप्रपा चौथो र मादल चिन्हसहित नेपाल मजदुर किसान पार्टीलाई ५ औं नम्बरमा दर्ता गरिएको छ ।

यस्तै, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका कूल मतदाता संख्या पनि टुङ्गो लगाएको छ ।

आयोगले दिएको जानकारी अनुसार १ सय १० जना प्रदेशसभा सदस्य र नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष २ सय ३८ जना गरी जम्मा ३ सय ४८ जना मतदाता रहने छन् ।

उक्त मतदाता नामावली बैशाख २१ गते निर्वाचन अधिकृतको कार्यालय हेटौडामा प्रकाशन गर्ने र सोही दिन सच्याउने तथा उजुरी दिन सकिने आयोगको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।