
काठमाडौं, बैशाख १६ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुतमार्गको दोस्रो चरणको ठेक्का र खरिद प्रक्रिया तत्काल रद्द गर्न नेपाली सेनालाई पुनः निर्देशन दिएको छ ।
दु्रतमार्गको दोस्रो चरणको काम अघि बढाउन यही वैशाख १२ गते गोरखापत्रमा छापिएको बोलपत्रको सूचनाप्रति आपत्ति जनाउँदै लेखा समितिले त्यसलाई तत्काल रोक्न निर्देशन दिएको हो ।
समितिले यस अघि पनि सेना र रक्षा मन्त्रालयलाई नै पत्र लेखेर अनियमितता भएको आशंकामा ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।
गत चैत १९ गतेको समितिको निर्णयपछि पनि खरिद प्रक्रिया जारी राखेको भन्दै त्यसलाई रोक्न समितिले निर्देशन दिएको हो ।
द्रुतमार्गको कामको दोस्रो प्याकेज अन्तर्गतको टनेल र पुल निर्माणका लागि एउटा मात्रै कम्पनीको प्रि क्वालीफिकेशन छनौट गरिएको भन्दै लेखा समितिले आर्थिक अनियमितताको आशंका गरेको हो ।
प्रतिक्रिया दिनुहोस्