अफताव आलमलाई सात दिन हिरासतमा राख्न प्रहरीलाई अदालतको अनुमति

news

रौतहट, असोज २८ । अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का निलम्बित सांसद् एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई सात दिनको अनुमति दिएको छ ।

अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद दिएको हो ।

१२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आलमलाई असोज २६ गते प्रहरीले इद्रिस गेटनजिकैबाट पक्रेको थियो ।

आलमले न्यायाधीशसमक्ष घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दामा पक्राउ गरिएकोमा आश्चर्य लागेको बताएका थिए ।

उनले अदालतबाट बाहिरिँदै गर्दा घटनाको दूधको दूध र पानीको पानी चाँडै छुट्टिने प्रतिक्रिया दिए । उनले अदालती निर्णयको सम्मान गर्ने पनि बताए ।

म्याद थपपछि आलमलाई फेरि जिल्ला प्रहरी कार्यालय, रौतहट नै लगिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...