
अक्कल कुँवर
काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तत्काल नयाँ विकल्प तयार नहुने भएको छ ।
संसदमा अविश्वासको प्रस्ताव लगेर ओली सरकार अपदस्थ गर्ने प्रयासमा लागेका विपक्षी दलहरु नै एकाएक पछि हट्ने अवस्थामा पुगेका छन् ।
सरकारबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा विपक्षीहरुबीच ठोस सहमति बन्न नसक्नु, माओवादी केन्द्रले समर्थन कायमै राख्नु र जनता समाजवादी पार्टीभित्रको पछिल्लो शक्ति संघर्षले नयाँ सरकार गठन नहुने देखिएको हो ।
ओली नेतृत्वको सरकार अपदस्थ गर्ने भन्दै लामो समयदेखि कसरत गरेका विपक्षी दलहरुले अविश्वासको प्रस्ताव समेत दर्ता गर्न सकेका छैनन् ।
राजनीतिक र प्राविधिक रुपले बहुमत नरहेपनि सदनमा यसको परिक्षण हुन नसक्दा प्रधानमन्त्री ओलीले त्यसको लाभ लिईरहनुभएको छ ।
नयाँ सरकार गठन गर्नका लागि जोडबल गरिरहेको माओवादी केन्द्र आफैले सरकारप्रतिको समर्थन कायमै राखेको छ ।
नयाँ सरकार गठनको लागि निर्णायक गणित बोकेको जसपाले निर्णय गर्न नसक्दा प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन नसकेको हो ।
आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निष्कर्षमा पुगे पनि नेपाली कांग्रेस माओवादी केन्द्र र जसपाले ठोस निर्णय बिना अविश्वासको प्रस्तावको औचित्य देखिरहेको छैन् ।
पछिल्ला राजनीतिक घटनाक्रमले वर्तमान सरकार अपदस्त गरेर नयाँ सरकार बनाउने विषय ओझेल परेको छ । तर,माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ नयाँ सरकार गठनको विषय ओझेलमा परेका मान्न तयार छैनन् ।
सत्ताको चाबी बोकेको जसपाभित्र देखिएको पछिल्लो शक्तिसंघर्ष र घटनाक्रमले नयाँ सरकार गठनको विषय थप कमजोर बनेको छ ।
जसपाभित्र अहिले दुईधार संघर्ष छ । बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा छन ।
१८ जना सांसदले प्रधानमन्त्री ओलीबिरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको उक्त पक्षका दावी छ ।
तर, महन्थ ठाकुर र राजेन्द्र महतो वर्तमान सरकारलाई नै समर्थन गर्नुपर्ने पक्षमा छन ।
कांग्रेस, माओवादी केन्द्र र सिङ्गो जसपा मिले मात्र सदनमा प्रधानमन्त्रीबिरुद्धको अविश्वासको प्रस्ताव पारित हुन्छ ।
प्रतिनिधिसभामा यी तिन दलको १ सय ४१ सिट छ । जुन प्रतिनिधिसभा अविश्वासको प्रस्ताव पारित र नयाँ सरकार गठनको लागि बहुमत हो ।
तर, जसपाभित्र देखिएको विभाजनको अवस्थाले बहुमत नपुग्ने देखिएपछि वर्तमान सरकार अपदस्त गर्ने प्रयास गरिरहेका नेताहरु नै नयाँ सरकार गठनको सम्भावना देख्न छाडेका छन् ।
प्रतिक्रिया दिनुहोस्