२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आइतबारदेखि उपत्यकामा निषेधाज्ञा थप कडा हुने


13
Shares

काठमाडौं, बैशाख १८ । आइतबारदेखि उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ ।

निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उहाँको भनाइ छ ।

शनिबार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको हो ।

बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले भोलिदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

यसैबीच कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लघन गर्ने १२ सय बढीलाई प्रहरीले कारबाही गरेको छ ।

शनिबार बिदाको दिनमा पनि सरकारी गाडी लिएर सडकमा निस्केकासहित १२ सय ३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको हो ।

निषेधाज्ञालाई कडाई गर्ने नीति अनुसार अनावश्यक सडकमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको प्रहरीले जनाएको छ ।

निषेधाज्ञाको समयमा समेत सडकमा सवारी साधनको चाप देखिएको छ । सवारी चापलाई कम गर्नका लागि चेकचाँजमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबारदेखि निषेधाज्ञा गरिएको छ ।