१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


लुम्बिनीमा पोखरेललाई मुख्यमन्त्रीको शपथ नदिलाउन विपक्षी ४० सांसदले गरे प्रदेश प्रमुखको ध्यानाकर्षण


0
Shares

lumbini pradesh sabha

बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश सभाका ४० जना विपक्षी सांसदले मुख्यमन्त्रीमा शंकर पोखरेललाई शपथ नदिलाउन प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका छन् ।

आइतबार पदबाट राजीनामा दिएर फेरि एमालेका तर्फबाट एकल बहुमतको सरकार गठनको तयारी गरिरहनुभएका पोखरेलसँग प्रदेश सरकार गठनका लागि आवश्यक बहुमत अर्थात् ४१ सांसद नरहेको भन्दै उनीहरुले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।

प्रदेशसभाका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर नै शपथ रोक्न भनेका छन् । पोखरेलसँग बहुमत नरहेको भन्दै आफ्नो पक्षमा ४० सांसदको हस्ताक्षर उनीहरुले देखाएका हुन् ।

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिएकै समयमा गत उपनिर्वाचनमा नेकपाबाट विजयी बनेका सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा जाने भन्दै पत्र पठाएपछि एकाएक खेल बदलिएको हो ।

वलीले माओवादी केन्द्र रोज्नासाथ अब एमालेको पक्षमा ४० सांसद रहने छन् । अब दुबै पक्षसँग बहुमत नदेखिएको र एमाले र विपक्षसँग ४०/४० सांसद रहेकाले जसले प्रदेश प्रमुखले छलफल गराउनुपर्ने माग विपक्षीहरुको छ ।