
काठमाडौं, बैशाख १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
मन्त्रिपरिषद्को आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
बजेट अधिवेशन बोलाउनुपर्ने भए पनि आफूलाई प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ट पार्न प्रधानमन्त्रीले आवश्यक ठानेको भनेर सिफारिस आएकाले राष्ट्रपतिले प्रतिनिधिसभाको मात्रै अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
मन्त्रिपरिषद्को सिफारिसमा सम्माननीय प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकोले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७८ साल वैशाख २७ गते सोमबारका दिन अपरान्ह १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नु भएको छ,’ घिमिरेले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले आफूमाथिको अन्योलता हटाएरमात्रै अघि बढ्नुपर्ने धारणा राखेको एक मन्त्रीले बताए ।
संसद्मा विश्वासको मत लिएपछि बजेट अधिवेशन आह्वान हुने छ । प्राविधिक रुपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नु भएको हो ।
पदमा कायम रहन प्रधानमन्त्रीले १ सय ३८ सांसदको समर्थन लिनुपर्छ । २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १ सय २१ सिट छ ।
नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १÷१ सिट रहेको छ ।
नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।
माओवादी केन्द्रले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार गठनका लागि पहल गरे पनि त्यसले मूर्त रुप पाइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्