
काठमाडौं, कात्तिक ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको छलफलमा समसामयिक विषय र संक्रमणकालीन न्यायसँग जोडिएको दुई आयोगमा पदाधिकारी नियुक्त गर्ने विषयमा नेताहरुले छलफल गरेका थिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्वसभामुख सुवास नेम्बाङ, ऊर्जामन्त्री वर्षमान पुन, कांग्रेस नेता मीनेन्द्र रिजाललगायत थिए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी र ती दुई आयोग सम्बन्धी ऐनका बारेमा छलफल भए पनि कुनै निष्कर्षमा भने नेताहरु पुगेनन् ।
बैठकमा सहभागी नेकपा नेता नेम्बाङले सत्ता पक्ष र प्रतिपक्षबीच सामान्य छलफल भएको प्रतिक्रिया मात्र दिए । संक्रमणकालीन न्यायसँग जोडिएका विषयमा सामान्य छलफल भएको उनको भनाइ थियो ।
कांग्रेस नेता रिजालले पनि समसामयिक विषय र समग्र राजनीतिका विषयमा कुराकानी भएको जानकारी दिए । बैठक बुधबार फेरि बस्ने गरी सकिएको छ ।
संक्रमणकालीन न्यायबारे गठित दुई आयोगले चार/चार वर्ष सकाउँदा पनि काम गर्न नसकेपछि सरकारले ती आयोगमा पदाधिकारी सिफारिश गर्न समिति बनाए पनि नाम सिफारिश गर्न सकेको छैन ।
दुई आयोगमा आफुनिकटका मानिसलाई पठाउने स्वार्थमा दलहरु अल्झँदा आयोग सात महिनादेखि पदाधिकारीविहीन बनेको छ ।
दुई आयोगमा नाम सिफारिश गर्न सरकारले गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्