२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा कठिनाई, शवदाह गृहमा शवको खात


0
Shares

गृष्मा राजभण्डारी

काठमाडौं, बैशाख २२ । नेपालमा कोरोना संक्रमितको दर ४८ प्रतिशतको हाराहारीमा पुगेको छ भने मृत्यु दर पनि दिनानुदिन बढ्दै गइरहेको छ ।

मंगलबार काठमाडौं उपत्यकामा मात्रै कोरोनाबाट मृत्यु भएका ३८ जनाको शव व्यवस्थापन गरिएको छ ।

संक्रमणबाट ज्यान गुमाएकाहरुको शव ओसार्न शव बाहनहरुलाई भ्याईनभ्याई छ ।

नयाँ भेरिएन्टको कोरोना महामारी नेपालमा पनि फैलिएको धेरै भएको छैन ।

तर यो संक्रमणले छोटो समयमै निकै ठूलो क्षति भने गरिसकेको छ ।

सरकारी तहबाट बेलैमा आवश्यक मापदण्डहरु लागू गर्न नसक्दा र सर्वसाधारणले पनि खेलाँची गर्दा अहिले अवस्था विकराल बन्दैछ ।

परीक्षण गरिएका मध्ये ४८ प्रतिशतमा संक्रमण देखिंदा मृत्यु हुनेको संख्या पनि डरलाग्दो गरी बढिरहेको छ ।

अस्पताल पुगेका बिरामीले समयमै उपचार पाउन नसक्दा ज्यान गुमाउन बाध्य छन् ।

पछिल्लो केही दिन यता मृत्यु हुने क्रम यसरी बढेको छ कि उनीहरुको अन्तिम संस्कारका लागि पशुपति परिसरको आर्यघाटमा रहेको बिद्युतिय शवदाह गृहमा शवमाथि शवको खात लाग्ने अवस्था बनेको छ भने संक्रमणबाट मृत्यु भएकाहरुको शव दहनका लागि मात्रै शवदाह गृह प्रयोगमा ल्याउन थालेको पनि बष्र्र दिन नाघिसक्यो ।

दुईवटा बिद्युतिय शवदाह गृह रहेको यस क्षेत्रमा पछिल्लो एक महिनाको आंकडा हेर्ने हो भने दैनिक २० भन्दा बढी कोरोना संक्रमितको अन्तिम संस्कार गरिएको छ ।

कोरोना महामारीसँगै नेपाली सेनाको जिम्मामा राखिएको यस शवदाह गृहमा शव ल्याउन एम्बुलेन्सलाई भ्याइनभ्याई छ ।

त्यतिमात्र कहाँ हो ? मृतकको संख्या बढ्दै गएपछी यही शवदाह गृहको नजिकै खुला चौरमा शव जलाउन बाध्य छ शव ब्यवस्थानमा खटिएका सैनिकहरु ।

मंगलबार नेपाली सेनाको शव ब्यबस्थापन समुहलाई कोरोना संक्रमित भई मृत्यु भएकाहरुको शव ल्याउन भ्याइनभ्याइ थियो ।

यस शवदाहगृहमा शव ल्याएपछी नेपाली सेनाको टोलीले मृतनकको परिवारको पहिचान गरी शव ब्यबस्थापन गर्ने गरेको छ ।

शवदाह गृह परिसरको दृश्य हेर्ने हो भने निकै कहालीलाग्दो छ ।

न त आफन्तले शवलाई छुन पाउने न त कुनै संस्कार नै गर्न पाउने । बस टुलुटुलु हेरी आँसु झार्नेबाहेक कुनै बिकल्प छैन ।

कोराना महामारीलाई वेवास्ता गर्ने जो कोहीले पनि यहाँको दृश्य हेर्यो भने केही न केही पाठ अवश्य सिक्नु पर्नेछ ।

यो महामारी तपाई हाम्रो परिवारमा क्षति नपुर्याओस र थप अरु नेपालीहरुले यस्तो नियती भोग्नु नपरोस भन्नका लागि बेलैमा सतर्क र सचेत बन्नु जरुरी छ ।