
काठमाडौं, वैशाख २३ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको घृणित राजनीतिका कारण देश संकटग्रस्त बनेको आरोप लगाउनुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा पूर्वमन्त्रीसमेत रहनुभएका रावलले, आफ्नै सांसदलाई कारवाही गरेर विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गर्नु प्रधानमन्त्री ओलीको घृणित राजनीति भएको टिप्पणी गर्नुभएको हो ।
बुधवार कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकारलाई विश्वासको मतदिन प्रधानमन्त्री ओलीले याचना गरेकाप्रति रावलले यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको बताउनुभएको हो ।
रावलले लेख्नुभएको छ, ‘प्रम केपीले दलमा विधान मिच्दै निरंकुशरूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु, कार्वाई गर्नु र कुनै छलफल–परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनयविनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो । यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ ।’
एमाले अध्यक्ष ओलीले आफ्नो आलोचना गर्ने नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहितका चार नेतालाई ६ महिनाका लागि निलम्बन गर्नुभएको छ भने २७ सांसदलाई कार्वाहीकै लागि स्पष्टीकरण सोध्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्