
वैशाख २६ । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग लगायतका संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि नाम सिफारिस गरेको छ ।
संवैधानिक परिषद् सम्बन्धि दोस्रो पटक जारी अध्यादेशपछि प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो पटक आइतबार बसेको परिषद्को बैठकले लोकसेवा आयोगलगायत संवैधानिक आयोगहरुमा रिक्त रहेका पदमा विभिन्न नियुक्तिका लागि नाम सिफारिस गरेको हो ।
परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिश गरेको हो ।
बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र सदस्यहरु प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो ।
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने बैठकमा सहभागि हुनु भएन ।
सभामुख र विपक्षी दलको नेताको उपस्थिति बिनै तीन सदस्यको उपस्थितिमा निर्णय गरिएको हो । विवादित संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीश राणा भने उपस्थित भएर प्रधानमन्त्रीलाई साथ दिनुभएको हो ।
बहुमत सदस्यको उपस्थितिमा पनि परिषद बैठक बस्न सक्ने गरी ल्याइएको अध्यादेशविरुद्ध आफै नेतृत्वको सर्वोच्च अदालतमा मुद्दा सुनुवाईमा रहेका बेला प्रधानन्यायाधीश राणा बैठकमा जान नहुने मत बनिरहेका बेला उहाँले प्रधानमन्त्री ओलीलाई साथ दिनुभएको हो ।
संवैधानिक परिषदको बैठकमा सबै सदस्य उपस्थित हुनुपर्ने र सर्वसम्मतिले निर्णय गर्नुपर्ने ऐनको व्यवस्था बदलेर बहुमत सदस्यको उपस्थितिमै निर्णय गर्न सकिने विवादित अध्यादेश पटक पटक जारी गरी प्रधानमन्त्री ओलीले संवैधानिक निकायहरुमा भटाभट नियुक्तिहरु गर्दै आउनुभएको छ ।
यसअघि पनि उहाँले सोही अध्यदेशमा टेकेर आफूनुकूलका व्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्नुभएको थियो ।
आयोगको अध्यक्षमा सचिव शिशिरकुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित गरिएकामा झापा गौरादह–३ का रेग्मीलाई नियुक्तिको सिफारिश गरिएको हो । रेग्मी प्रधानमन्त्री ओलीको गृहनगरका हुनुहन्छ । रेग्मी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुनुहुन्छ ।
संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्