१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


खोप खरिदमा अवरोध गर्नेलाई तत्काल कारबाही गर्न माधव नेपालको माग


0
Shares

काठमाडौं, वैशाख २६ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कमिसनकै कारण कोरोना खोप आयातमा अवरोध गर्नु मानवताविरोधी अपराध भएकाले त्यस्ता व्यक्तिहरुलाई कार्वाही गर्न माग गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले एक अपील जारी गर्दै व्यक्तिगत नाफाका लागि निजी क्षेत्रलाई खोप आयात गर्न दिन नहुने पनि प्रष्ट गर्नुभएको छ ।

कोरोना भ्याक्सिन निःशुल्क र सर्वसुलभ हुनुपर्ने भन्दै नेता नेपालले त्यसको प्रबन्ध गर्ने योजना ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ ।

देशभर अस्पतालमा अक्सिजन र शय्या अभाव रहेकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेता नेपालले भन्नुभएको छ, ‘कोरोनाको भ्याक्सिन जस्तो जनताको जीवन रक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्न अनुरोध गर्दछु । कोरोना भ्याक्सिन निःशुल्क र सर्वसुलभ हुनुपर्छ, त्यसको प्रबन्ध गर्ने योजना ल्याउन सरकारसमक्ष अनुरोध गर्दछु ।’

कोरोना संक्रमण र मृत्युदरमा भइरहेको बृद्धिले भयावह अवस्थाको चित्रण गरेको भन्दै उहाँले यसबाट जनमानसमा आक्रोश बढिरहेकातर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।